चरिकोट - दोलखा कालिञ्चोक गाउँपालिकामा पाँच दर्जन बढि व्यक्तिहरु देशबाहिरबाट भित्रिएको पाईएको छ । पछिल्लो दुई हप्ताको अवधिमा ६४ जना व्यक्तिहरु देशबाहिरबाट गाउँपालिका भित्रिएका हुन् ।
जसमा एक जना मलेसिया र ६३ जना भारतबाट फर्किएका व्यक्तिहरु रहेका छन् । स्थानीय प्रशासनले बाहिरबाट आएका व्यक्तिहरुलाई कडा निगरानी गर्न निर्देशन दिएपनि ती व्यक्तिहरु गाउँघरमा खुलेआम हिडडुल गरिरहेको स्थानीयले बताएका छन् ।
सरकारले विदेशबाट आएका व्यक्तिहरुलाई सुरक्षाकर्मीको सहयोगमा तत्काल क्वारेन्टाईनमा राख्न निर्देशन दिएको छ । मुलुक बाहिरबाट मानिसहरु भित्रिएको सूचना आएपछि गाउँपालिकाले त्यस्ता व्यक्तिहरुको बिवरण संकलन गरिरहेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले दुई हप्ताको अवधिमा ६४ जना गाउँपालिका भित्रिएको सूूचना प्राप्त भएको र उनीहरुलाई सूचना मार्फत सचेत गराईएको जानकारी दिए ।
गाउँपालिकाले जारी गरेको सूचनामा उनीरुलाई घरभित्रै रहन र सार्वजानिक कार्यक्रमहरुमा सहभागि नहुन आग्रह गरिएको छ ।
‘स्वास्थ्य अवस्थाबारे सचेत रहन, व्यक्तिगत सरसफाईमा ध्यान दिन, ज्वरोजन्य समस्या आएमा स्वास्थ्य संस्थामा गई चेक जाँच गरिगराई सरकारले घोषणा गरेको लकडाउनलाई सहयोग गर्न अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ । गाउँपालिकाले भारत र मलेसियाबाट मानिसहरु भित्रिएपनि ढिलोगरी बिवरण संकलन गर्दै सूचना मार्फत सचेत गराएको हो ।