Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
चीनतर्फका खुल्यो दुबै नाका

काठमाडौँ — दुई महिनादेखि बन्द चीनतर्फका दुई नाका रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका (शुक्रबार) आजबाट खुला गरिएको छ । ती नाकाहरु माघ १५ गतेदेखि बन्द गरिएका थिए । सामान ल्याउन मिल्ने गरी नाका खुला गरिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

उनका अनुसार औषधि र अन्य कुनै अत्यावश्यक सामग्रीबाहेकलाई १४ दिन क्वारेन्टाइनमा राखेर मात्रै सामान नेपाल भित्र्याउन दिईनेछ । सामान ओसारपसारमा संलग्न ड्राइभर, कामदार तथा कर्मचारीलाई कोरोना भाइरस संक्रमण जाँच गरेर मात्रै आवतजावत गर्न दिने व्यवस्था गरिएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत बुधबार रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो ।

चीनतर्फ रसुवागढी नाकामा नेपालका लागि हिँडेका करिब २ सय कन्टेनर रोकिएपछि चिनियाँ पक्षले नेपाललाई नाका खोल्न आग्रह गर्दै आएको थियो । यो नाकालाई ०७४ भदौ १४ गते चीन सरकारले ‘अन्तर्राष्ट्रिय नाका’ घोषणा गरेपछि सीमामा व्यवसायी र सवारीसाधनको चाप बढ्दै गएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update