Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अमेरिकामा सबैभन्दा बढि कोरोना भाईरसको संक्रमण

वासिङ्टन — कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सबैभन्दा बढि अमेरिकामा देखिएको छ । शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८५ हजार ५ सय ९४ पुगेको अन्तराष्टिय संचारमाध्यमले जनाएका छन् ।

अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणबाट एक हजार ३ सयको मृत्यु भैसकेको छ । अमेरिकामा संक्रमित भएर निको हुनेको संख्या करिब २ हजार मात्रै रहेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने शुक्रबार बिहानसम्म संक्रमितको संख्या ८१ हजार ३ सय ४० पुगेको छ । चीनमा अहिलेसम्म ३ हजार २ सय ९२ को मृत्यु भएको छ भने करिब ७५ हजार निको भैसकेका छन् ।

कोरोना संक्रमणले आक्रान्त अमेरिकामा पछिल्लो हप्ता मात्रै ३३ लाख नागरिक बेरोजगार भएका छन् । व्यापार व्यवसाय ठप्प छन् भने अर्थतन्त्र डामाडोलको अवस्थामा छ ।

न्युयोर्क राज्यका गभर्नर एन्ड्रयु कोमोले अमेरिकामा कोरोना संक्रमण बुलेट ट्रेनको गतिमा बढिरहेको चेतावनी दिईसकेको छन् । बिहीबार मात्रै अमेरिकी सिनेटले कोरोना प्रकोपसँग जुझ्न २ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update