काठमाडौँ — नेपालमा तीन जनामा कोभिड १९ (कोरोना भाइरस) को संक्रमण देखिएको छ । बुधवार थप एक जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ३ पुगेको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक पदाधिकारीका अनुसार बुधबार तेस्रो केस पोजेटिभ भेटिएको छ । संक्रमितको अन्य जानकारी भने खुलाइएको छैन। उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ को रिपोर्ट नेगेटिभ आएको छ। केही समयअघि चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएकोमा उनी उपचार पछि घर फर्किसकेका छन् । त्यसपछि चैत ४ गते कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो। उनको उपचार जारी छ ।
गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड १९ का कारण अहिलेसम्म विश्वभर १८ हजार ९ सय १२ जनाको मृत्यु भइसकेको छ ।