काठमाडौँ — पर्साको विरगञ्जका व्यवसायी शिवकुमार रुगंटामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण नभएको पुष्टि भएको छ । कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका उनको दोस्रो रिर्पोट नेगेटिभ आएको हो ।
पटना मेडिकल कलेज अस्पतालले उनको परिवारलाई दिएको नमुना परीक्षणको रिर्पोटमा कोरोना नतिजा नेगेटिभ देखिएको छ । कोरोनाको आशंकामा पटना मेडिकल कलेजमा भर्ना भएको रुगंटाको स्वाब परीक्षणका लागि पटनास्थित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चअन्तर्गत रहेको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा पठाइएको थियो ।
यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि ल्याबको नतिजामा नेगेटिभ आएको रुगटासँगै पटना अस्पतालमा रहेका भतिजा आकाश रुगंटाले बताए ।
पारिवारिक श्रोत, सांसद र सरकारी अधिकारीहरुको भनाईलाई आधार मान्दै यसअघि समाचार सम्प्रेषण गरिएकोमा उक्त समाचार गलत रहेकोले सच्याईएको छ ।
-सम्पादक