Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मन्त्रीहरुसहितको टोलीले गर्यो तामाकोशी आयोजनाको निरीक्षण, समयमै काम सक्न निर्देशन

काठमाण्डौं । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षणमा आएका छन् । स्वदेशी लगानीमा लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाटको आयोजनाको बाँध लगाएत संरचनाको परीक्षणको अवलोकन गर्न उर्जामन्त्री पुन आईतवार लामाबगर पुगेका हुन् ।

त्यस क्रममा उनले आयोजनाको बाँध तथा डिसेन्डर बेसिन) बालुवा थिग्र्याउने पोखरीको प्राविधिक परीक्षणको अवलोकन गरे । आयोजनाको बाँधमा गत सोमबारबाट पानी जम्मा गर्न सुरु गरिएको थियो । बाँध र पोखरीको प्राविधिक परीक्षण सफल भएकामा खुसि व्यक्त गर्दै मन्त्री पुनले निर्धारित समयमै काम सक्न निर्देशन दिएका छन् ।

मन्त्री पुनले भने, विगतमा जे कारणले आयोजना निर्माणमा ढिलाइ भए पनि अब ढिलो गर्ने छुट छैन, समयमै काम सक्न सम्पुर्ण ध्यान केन्द्रित गर्नुपर्छ । मन्त्री पुनले आगामी असारसम्ममा परीक्षण उत्पादन थाल्ने गरी काम अघि बढाउन निर्देशन दिएका हुन् । त्यसका लागि जस्तोसुकै सहयोग गर्न सरकार तयार रहेको वचन मन्त्री पुनले दिए । उनले आयोजनामा केही समस्या देखिए तत्काल जानकारी दिन आग्रह गरेका छन् । यो आयोजनामा सर्वसाधरण जनताको समेत शेयर लगानी भएकाले अब जसरी पनि समयमै काम हुनुपर्नेमा उनको जोड छ ।

केही संवेदनशील र चुनौचीपूर्ण काम बाँकी रहेपनि त्यसमा कमजोरी नगर्न मन्त्री पुनले सचेत गराएका छन् । जवाफमा आयोजनाका पदाधिकारी, ठेकेदार र परामर्शदाता सबैले समयमै काम सक्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री भएपछि पुनले तेश्रो पटक तामाकोशी आयोजनाको स्थलगत निरीक्षण गरेका हुन् ।

उर्जामन्त्रीसँग आयोजना निरीक्षणमा आएका महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले धेरै जटिलता र कठिनाइबीच आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेकोमा खुसि व्यक्त गरेका छन् । आयोजना निर्माण सफल बनाएकोमा उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई धन्यवाद दिँदै उनले देशकै सबैभन्दा ठूलो आयोजना जिल्लामा बन्नु दोलखाकासीका लागि गौरबको विषय भएको बताए । उनी दोलखाबाट प्रतिनिधिसभा निर्वाचित सांसद हुन् ।

मन्त्री पुन र गुरुङसँगै टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, सदस्य डा. कृष्णप्रसाद ओली, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीका अध्यक्ष कुलमान घिसिङ लगायतको टोली आईतवार तामाकोशी आयोजनाको निरीक्षणमा निस्किएको हो ।

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update