काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई दुई देशबीचको सिमा नियन्त्रण गर्न आग्रह गरेका छन् । विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुध्न सार्क राष्ट्रका मुलुकहरुबीच सहकार्यको आवश्यकतामा जोड दिँदै उनले सिमा नाका नियन्त्रण गर्नुपर्ने बताए ।
राजदुत क्वात्रासँग आईतवार भएको भेटमा गृहमन्त्री थापाले नेपाल–भारतसिमाबाट कोरोनाको महामारी नेपाल प्रवेश हुन नदिन सीमा नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरे । भेटमा राजदूत क्वात्राले नेपाल–भारत सम्बन्धको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप मजबुत बनाउन सक्दो भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दै कोरोना भाइरस विरुद्धको लडाइँमा नेपाललाई आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको बताए ।
कोरोनाको त्रासपछिको अवस्थामा नेपाल–भारत सीमा व्यवस्थापनको सम्बन्धमा दुई देशका परराष्ट्रमन्त्रीबीच पनि छलफल भइसकेको तथा नेपालको गृहमन्त्रालयको समेत राय लिएर निर्णय गर्न आफूहरु तयार रहेको बताए ।