चरिकोट - राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध लगायतका संरचनाहरुको प्राबिधिक परीक्षण भैरहेको छ । स्वदेशी लगानीमा निर्माण भैरहेको ४ सय ५६ मेगावाट क्षमताको आयोजनाको बाँध १२ लाख घनमिटर क्षमताको छ ।
आयोजनाको सबैभन्दा आकर्षक पक्षको रुपमा लामाबगरमा हज्जारौँ वर्ष पहिले बनेको उक्त प्राकृतिक बाँधलाई लिईएको छ । छोटो सुरुङ निर्माण बाट पानी खसाल्ने उच्च वाटर हेड र दैनिक पिकिङको लागि कम उचाईको बाँधबाट नै १२ लाख घनमिटर क्षमताको जलाशय तयार हुन्छ । बाँधस्थलको आकार २२ मिटर उचाइ तथा ६० मिटर चौडाइको छ ।
यो पनि पढ्नुस् | तामाकोशी आयोजनाको बाँधसहित मुख्य संरचनाको यसरी गरिँदैछ परीक्षण |
जसमा ८ वटा ढोका छन् । चार वटा ढोकाबाट निकास हुने पानी डिसेन्डर बेसिन हुँदै मुख्य सुरुङमार्फत विद्युतगृहमा पुर्याएर विद्युत उत्पादन हुन्छ । पहिलो युनिटबाट कूल ७६ मेगावाट विद्युत उत्पादन हुनेछ ।
बाँध सहित ईन्टेक, वालुवा थिग्राउने पोखरी (Settling Basin), गेट, स्टपलग लगायत अन्य हेडवक्र्सका संरचनाहरुको प्राविधिक परीक्षण भैरहेको हो । चैत्र २२ गतेसम्म आयोजनाको जलाशय तथा बालुवा थिग्राउने पोखरीमा पानी भर्ने, नदीको पानी रोक्ने र छोड्ने काम हुनेछ । चार दिनसम्म बाँध, मुहान गेट र डिसेन्डर बेसिन (बालुवा थिग्राउने पोखरी) मा पानी भरेर परीक्षण गरिसकिएको छ ।
आयोजनाका अधिकारीहरुका अनुसार प्रमुख संरचनामध्ये बाँधस्थल क्षेत्रका संरचनाहरुमा समस्या भए नभएको अवस्था पत्ता लगाउन परीक्षण गर्नुपरेको हो । विगु गाउँपालिका–१ लामाबगरमा आयोजना निर्माणाधिन आयोजनाको ९९ दशमलव ३ प्रतिशत निर्माण कार्य सकिएको छ ।