काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिप रेकर्ड गरेर सामाजिक संजालमा प्रचार गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगर रहेका छन् ।
उनले भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्जामार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । प्रहरीसँगको वयानका क्रममा उनले आफ्नो साईटको अडियन्स र रिच बढाउन गलत पोष्ट गरेको स्वीकार गरेका छन् ।
पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्ने सूचना त्यहीं कार्यरत चिकित्सकले बताएको भन्दै भिडियो क्लिप सेयर गरेका थिए । उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड गरेका थिए ।
नेपाल प्रहरी साइबर ब्युुरोका एसएसपी नविन्द अर्यालले मगरमाथि थप अनुसन्धान अघि बढाईएको बताए ।