Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सामाजिक संजालमा अफवाह फैल्याउनेलाई १ वर्ष कैद र जरिवाना

काठमाण्डौँ - कारोना संक्रमणबारे सामाजिक संजालमा एउटा अडियो क्लिप भाईरल भैरहेको छ । उक्त अडियोमा नर्भिक अस्पतालमा ६ जनामा कोरोना संक्रमित भेटिएको भनिएको छ । त्यसले जताजतै मनोवैज्ञानिक त्रास सिर्जना गर्यो । सरकारले एकजना संक्रमितको उपचार भैसकेको तर नयाँ संक्रमित पुष्टि नभएको भन्दै अफवाहको पछि नलाग्न आग्रह गरिरहेको छ ।

नर्भिक अस्पतालले पनि विज्ञप्ती जारी गर्दै सामाजिक संजालमा भ्रामक र कपोकल्पित अफवाह फैल्याईएको भन्दै खण्डन गरिसकेको छ । मुलुकी अपराध संहितामा त्यस्ता अफवाह फैल्याउने र प्रचारप्रसार प्रचलित ऐन कानुन बमोजिम दण्डनिय मानिएको छ ।

दोषीलाई कानुनी कारबाहीको व्यवस्था छ । झुट्ठा अफबाह फैलाए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय तथा सो सजायका अतिरिक्त विद्युतीय माध्यम प्रयोग भएको हुँदा थप सजाय समेत हुनसक्ने प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २ ‘सार्वजनिक शान्ति विरुद्धका कसूर’ मा भएको प्रावधान यस्तो छ :

झुट्ठा अफबाह फैलाउन नहुनेः

कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हूलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन । उपदफा ९१० बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

कारोनाको संक्रमणका विरामी भेटिएको अडियो रेकर्ड गरी प्रचार गर्ने व्यक्तिको प्रहरीले खोजी गरिरहेको जनाएको छ । यसमा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान प्रकृया अगाडी बढाईसकिएको नेपाल प्रहरी स्रोतले जनायो ।

प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update