Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पिस्कर संघर्षको प्रेरणादायी गाथा

नेपाली जनआन्दोलनको इतिहासमा पिस्कर एउटा चर्चित ठाउँ हो । ०४० साल माघ १ गते राति, जहाँ निरंकुश व्यवस्थाविरुद्ध भीषण जनप्रतिरोध भएको थियो । सिन्धुपाल्चोकमा पर्ने यो ठाउँ नयाँ संरचनापछि पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गत रहेको छ । साविकको घोरथली, चोकटी धुस्कुन, पिस्कर, तौथली र टेकानपुरसमेत गरी त्रिपुरासुन्दरी गाउँपालिका निर्माण भएको हो । क्रान्तिभूमिप्रतिको सम्मानस्वरूप पिस्करलाई गाउँपालिकाको केन्द्र तोकिएको छ ।

गरिबी, शोषण र अत्याचारमा पिल्सिएका पिस्कर भेगका किसान जनसमुदायले पञ्चायती क्रूर शासनविरुद्ध २० कै दशकदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको पहलमा विभिन्न स्वरूपको जनसंघर्ष गर्दै आएका थिए । ०४० सालमा यसले उच्च रूप लियो । जसले त्यसवेला व्याप्त निराशा, शिथिलता र पञ्चायती कालरात्रिको सामना गर्दै देशभरिकै आन्दोलनमा क्रान्तिकारी जनसमुदायलाई नयाँ ऊर्जा थप्ने काम गरेको थियो । तत्कालीन नेकपा ९माले०को नेतृत्वमा भएको भए पनि वास्तवमा यो संघर्ष परिवर्तन र प्रजातन्त्रका पक्षधर सम्पूर्ण शक्तिहरूकै साझा संघर्ष थियो । राजनीतिक अधिकारका अतिरिक्त किसानका वर्गीय माग उठाउने, सामूहिक प्रतिवाद गर्ने र दमनविरुद्ध सामूहिक गिरफ्तारी दिने आन्दोलनका महत्वपूर्ण विशेषता थिए । त्यसवेला गरिएका पार्टी संगठन र आन्दोलन सञ्चालनका कष्टसाध्य अनुभव अहिले पनि हाम्रा निमित्त क्रान्तिकारी प्रेरणाका अविस्मरणीय स्रोत बनेका छन् ।

०४६ सालको जनआन्दोलनले निरंकुश पञ्चायतको अन्त्य गरे पनि सामन्ती राजतन्त्र वैधानिक रूपमा कायम थियो । ०६२र०६३ को ऐतिहासिक शान्तिपूर्ण जनआन्दोलनबाट अहिले राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । नयाँ संविधानको निर्माणपछि संघ, प्रदेश र स्थानीय सरकारको निर्माण भई देश आर्थिक, सामाजिक रूपान्तरणको दिशामा अघि बढेको छ । साँच्चै भन्ने हो भने यो ऐतिहासिक परिवर्तनको जग पिस्करलगायत देशका विभिन्न ठाउँमा भएका शान्तिपूर्ण एवं सशस्त्र जनसंघर्षकै परिणाम हुन् । त्यसवेला प्रतिकूल परिस्थिति थियो । यसमा राजनीतिक कार्यकर्ताले जेलनेल र गोलीको पर्वाह नगरी पार्टी संगठन निर्माण गर्ने र आन्दोलनको राँको बाल्ने साहस नगरेको भए सायद आजको यो परिवर्तन सम्भव हुने थिएन ।

आजकलका कार्यकर्ता सजिलै यो राजनीतिक परिवर्तन भएको ठान्दछन् । उनीहरूलाई त्यसवेला पार्टी निर्माण गर्दा र आन्दोलन सञ्चालन गर्दाका अप्ठ्याराबारे राम्रो जानकारीसमेत हुँदैन । अहिले परिस्थिति अनुकूल छ । निर्वाचनमा मत हालेको भरमा आफ्नो योगदानको मूल्यांकन खोज्ने गरिन्छ । तर, त्यतिखेर आफ्नो लाभलाई केन्द्रबिन्दुमा राखेर कोही पनि पार्टी र आन्दोलनमा लागेका थिएनन् । पहिलाका योद्धाले मिहिनेत र त्याग नगरेको भए आजको उपलब्धि हुन सक्ने थिएन । तसर्थ हामीले यस्ता ऐतिहासिक संघर्षका इतिहासलाई सम्झनुपर्छ ।

संघर्षमा बलिदान गर्ने योद्धाहरूलाई कहिल्यै बिर्सनु हुँदैन । सधैँभरि उहाँहरूको सम्मान र सम्झना गरिरहनुपर्छ । औपचारिकताका नाममा ‘सहिद दिवस’ मनाएर मात्र ऐतिहासिक आन्दोलन र सहिदहरूप्रति वास्तवमा सम्मान पुग्दैन । मुख्य विषय ती आन्दोलन वा आत्मबलिदान कुन उद्देश्य प्राप्तिका निम्ति भएका थिए, त्यसको मुख्य तात्पर्यलाई बुझ्नुपर्छ । नीति–निर्माण गर्दा योजना वा बजेट बनाउँदा सबै तहमा जनताको सुख र राष्ट्रको समृद्धिको कुरातर्फ ध्यान दिनुपर्छ । आन्दोलनको मूल मर्मलाई व्यवहारमा उतार्ने इमानदार प्रयत्न गर्नुपर्छ । अन्यथा उद्देश्य एकातिर र व्यवहार अर्कातिर हुन पुग्छन् । जसले पार्टी एकातिर, सरकार अर्कातिर र जनसमुदाय अझै अर्कोतिर हुने खतरा रहिरहनेछ । विभिन्न ठाउँमा भएका ऐतिहासिक संघर्षबाट हामीले सिक्नुपर्ने कुरा भनेको यही नै हो ।

पिस्कर आन्दोलनको मूल उद्देश्य गणतन्त्र र समाजवाद प्राप्ति नै थियो । त्यसैले यो आन्दोलनकारी जनताको अविस्मरणीय प्रेरणादायी स्रोत पनि हो । त्यसवेला जनताबीच राजनीतिक काम गर्दा माक्र्सवादी वैचारिक शिक्षाको काम राम्ररी गरिन्थ्यो । कार्यकर्ता–नेताका आचारण र जीवनशैली सादा र कम्युनिस्ट सिद्धान्तअनुरूप हुन्थ्यो । जनता र कार्यकर्ताको बीचको सम्बन्ध नङमासुको जस्तो थियो । स्तरीय वैचारिक शिक्षाका कारण उनीहरूको मनोबल उच्च थियो । त्यसैले जनप्रतिरोधका दौरान इली थामी र वीरबहादुर थामी जस्ता योद्धाहरूले पिस्करको भूमिमा आफ्नो जीवनको आहुति मात्र दिएनन्, कतिले आफ्नो सर्वस्व गुमाए, वर्षौंसम्म जेलनेलका कठोर यातना भोगे, कैयौँले पञ्चायती झुटा मुद्दाको सामना गरे भने कति आफ्ना घरपरिवार छाडेर भूमिगत भए । जस्तोसुकै दमन हुँदा पनि पार्टीका संगठक भोकतिर्खा, निद–थकाइ नभनी दिनरात जनताकै बीच राजनीतिक संगठनात्मक काममा डटिरहे । यसले नै आन्दोलनलाई अन्तिमसम्म अविचलित भई अघि बढ्न पे्ररित ग¥यो ।

शासकले पिस्करमा दमनका गरम र नरम दुवै रूप अपनाएका थिए । गाउँले जाली–फटाहा र सरकारी गुमस्तलाई धेरै सक्रिय बनाए । तर, प्रतिक्रियावादी सरकारका हरप्रकारका बिघ्नबाधालाई प्रतिवाद गर्दै लक्ष्यप्राप्तिको आफ्नो आन्दोलनलाई निरन्तरता दिइरहे । त्यही कारण आजपर्यन्त पिस्करवासीको वैचारिक आस्थामा कमी आएको छैन । उनीहरू समाजवादी समाज निर्माणको दिशामा निरन्तर उभिरहेका छन् । पिस्कर मेरो जन्मभूमि पनि हो । पञ्चायतकालमा मेरो भूमिगत राजनीतिक जीवनको एउटा महत्वपूर्ण समय विशेषतः पिस्करमा व्यतीत भएको हो । आफ्नो जन्मभूमि र राजनीतिक कर्मभूमि पनि भएकाले पिस्करप्रति विशेष माया हुनु स्वाभाविक हो । त्यसैले मैले आफ्नो माटोप्रतिको कर्तव्यलाई कहिल्यै बिर्सेको छैन । त्यहाँका क्रान्तिकारी जनताबाट शिक्षा र पे्ररणा लिँदै देशको उन्नति र प्रगतिका निमित्त कम्युनिस्ट आदर्शअनुरूप जीवनको अन्तिम घडीसम्म लागिरहने संकल्प मैले गरेको छु ।

पञ्चायती शासकहरूले पिस्करका जनसमुदायलाई ‘उग्रवादी र आतंकवादी’को आरोपमा दमन गरे । तर, त्यहाँका जनसमुदायले कुनै अराजकता र उग्रताका काम गरेका थिएनन् । उनीहरूले वर्षौंदेखि आफूमाथि भइरहेको वर्गीय शोषण र राजनीतिक अत्याचारविरुद्ध पार्टीको नेतृत्वमा केवल शान्तिपूर्ण संघर्ष गरेका थिए । २०औँ शताब्दीमा पनि त्यस भेगका जनताले खेप्नुपरेको शोषण र यातनाका रूप साँच्चै सामन्तवादको बर्बर नमुना थियो । उनीहरू जति सकिन्छ चाँडो त्यो पीडाबाट मुक्ति चाहन्थे । शासकहरूका दृष्टिमा उनीहरूको कथित अपराध र आतंकवादी काम त्यही नै थियो ।

कम्युनिस्ट नेता–कार्यकर्तालाई ‘एकै चिहान’ पार्ने गोप्य योजनाअनुरूप ०४० सालको माघे संक्रान्तिका दिन पिस्कर महादेव स्थानमा आयोजित सांस्कृतिक कार्यक्रममा हिंस्रक दमन भयो । दमनबारे जिल्लाका प्रहरी प्रशासनलाई समेत थाहा दिइएन । सोझै काठमाडौंबाट ठूलो संख्यामा सशस्त्र शक्ति परिचालित गरिए । गोलाबारुदको सशक्त प्रतिरोध गर्ने क्रममा इली थामी र वीरबहादुर थामीको निर्मम हत्या भयो । गोलीले छताछुल्ल भएको आफ्नो आन्द्रालाई पेटभित्र हालेर उनीहरूले दमनको प्रतिवाद गरेका थिए ।

त्यसक्रममा जगतबहादुर बोहरा, पल्कामाया थामी, वेत्रावती पौडेल, श्रीमान तामाङ, नैनबहादुर पौडेल, राजु थामी मीनबहादुर भण्डारी, भीमबहादुर भण्डारी, सावित्री बोहरा र डोल्मा तामाङलाई सख्त घाइते पारी पक्राउ गरियो । पिस्कर हत्याकाण्डका क्रममा अरू पाँचजनाले अमानवीय तरिकाले सहादत प्राप्त गरे । त्यसैगरी छत्रबहादुर बोहरा, सोनाम तामाङ, मानबहादुर थामी, मेघनाथ पौडेल, अरुण नेपाल, सरेश नेपाल, गोपाल थपलियालगायत दर्जनौँ नेता–कार्यकर्ताले जेलको क्रूरताको सामना गर्नुप(यो । सयौँले झुटा मुद्दा खेपेर वर्षौंसम्म दुःख पाए । तर, प्रतिक्रियावादी शासकसामु कसैले आत्मसमर्पण गरेनन् । सबैभन्दा महत्वपूर्ण उपलब्धि यही थियो । आन्दोलनकारी पिस्कर क्षेत्रका जनता तथा कार्यकर्ता धेरै पढेका थिएनन् । माक्र्सवाद र क्रान्तिकारी सिद्धान्तका ठुल्ठूला गफ हाँक्न जानेका थिएनन् । तर, उनीहरूमा पार्टी र वैचारिक सिद्धान्तप्रतिको आस्था र विश्वास भने ज्यादै प्रगाढ थियो ।

पार्टीको बैठक गरी सांस्कृतिक कार्यक्रमको आवश्यक व्यवस्था गर्न एक साताअघि म र माधव पौडेल पिस्कर पुगेका थियौँ । कार्यक्रमको आवश्यक तयारी गरेर तत्काल फर्केको थिएँ । माघ १ रातिको त्रासदीपूर्ण घटनाबारे मैले त्यस दिन बिहान काठमाडौंमा सुनेँ । त्यतिखेर म काठमाडौं यटखाको दमैटोलमा थिएँ । ज्यादै दुःख लाग्यो र स्तब्ध भएँ । तत्काल जानकारी लिन आजकलको जस्तो कुनै सञ्चार सुविधा थिएन । त्यसमा पनि पार्टी भूमिगत थियो । त्यसवेला कमरेड मदन भण्डारी, माधव नेपाल, वामदेव गौतम, झलनाथ खनाल र म सँगै थियौँ । झलनाथ खनाल त्यसवेला नेकपा ९माले०को महासचिव हुनुहुन्थ्यो । कमरेड जीवराज आश्रित पार्टी कामको सन्दर्भमा लुम्बिनी क्षेत्रतिर भएकाले त्यो बैठकमा आउन सक्नुभएन । नेताहरू एकैठाउँ जुटेको मौका परेकाले आकस्मिक पार्टी पोलिट्ब्युरोको बैठक बस्यो ।

बैठकले परिस्थितिको विश्लेषण ग(यो र तत्काल प्रतिवादको कार्ययोजना तय ग(यो । पार्टीको तर्फबाट त्यस नृशंस घटनाले हामी सबैलाई मर्माहत र स्तब्ध बनायो । असंख्य गोली चलेको र धेरै लास खेतमा छरिएको समाचार आउन थाले । स्थिति ज्यादै प्रतिकूल थिए तर पार्टीले मलाई थप तथ्य बुझ्न र कार्यकर्ता र जनतालाई आवश्यक निर्देशन दिन पिस्कर पठाउने निर्णय ग(यो । पत्रपत्रिका र सञ्चारको साधन त्यसवेला ज्यादै सीमित थिए । त्यसमा पनि पिस्करको समाचारप्रति कडा सेन्सरसिप लगाइएको थियो । तथापि धेरै पत्रपत्रिकाले समाचार छापे । सबैभन्दा पहिलो समाचार ‘चित्रण’ साप्ताहिकले प्रकाशित गरेको थियो । त्यसले नै देशभरि सूचना सम्प्रेषण गर्ने महत्वपूर्ण काम ग(यो । त्यसपछि छलफल, प्रकाश, मातृभूमि, नयाँ सन्देश, देशान्तर, गोरखापत्र आदि अनगिन्ती पत्रपत्रिकाले समाचार र सम्पादकीय लेखे । यसले सरकारको अप्रजातान्त्रिक निरंकुश चरित्रलाई अरू नग्न पार्न सहयोग पुग्यो ।

राजाको सरकारले पिस्करको त्यो कार्यक्रममा मलगायत कम्युनिस्ट पार्टीका महत्वपूर्ण नेताहरूको जमघट हुन्छ भन्ने रिपोर्टका आधारमा कम्युनिस्टको ‘नामोनिसान’ मेट्ने उद्देश्यसाथ त्यो भीषण दमन गरेको थियो । बैठकमा निरंकुश शासकको फासिस्ट चरित्रको ठोस विश्लेषण भयो । तत्काल कुनै कदम नचाले पार्टीले ठूलो नोक्सानी व्यहोर्नुपर्ने हाम्रो निष्कर्ष रह्यो । आकस्मिक बसेको पोलिट्ब्युरोको बैठकले ‘पिस्कर हत्या दमन’को देशव्यापी विरोध र प्रतिवादको योजना बनायो । सञ्चार तथा मानवअधिकारवादी संघसंस्था अहिलेको जस्तो व्यापक नभए पनि भएका सञ्चार र संघसंस्थालाई परिचालन गर्ने र पञ्चायतइतरका सबै प्रजातन्त्र पक्षधर नेतालाई ‘हत्याकाण्ड’बारे बोल्न पहल गर्ने नीति बनाइयो ।

मातृभूमि साप्ताहिकका प्रधानसम्पादक गोविन्द वियोगीसँग खुल्ला हुँदै मेरो राम्रो मित्रता थियो । हामीले उहाँसँग गोप्य रूपमा सम्पर्क गर्‍यौँ । त्यसपछि गृह मन्त्रालय र अञ्चलाधीशसँग कडा प्रतिवाद गर्दै वरिष्ठ पत्रकार गोविन्द वियोगीको नेतृत्वमा किशोर नेपाललगायत १७ जना सञ्चारकर्मीको टोली बाह्रबिसेदेखि पैदल हिँडेर पिस्कर पुग्यो । त्यहाँको सम्पूर्ण घटना तथ्य सार्वजनिक गर्ने काम ग(यो । यसले हाम्रो आन्दोलनलाई देशव्यापी बनाउँदै पञ्च सरकारको फासिस्ट चरित्र उदांगो गर्न र हत्याकाण्डको विरोधमा आन्दोलित हुन सबैलाई प्रेरित ग(यो । वास्तवमा कुनै पनि घटना तथ्यलाई फैलाउन सञ्चार क्षेत्रको भूमिका कति उपयोगी हुने रहेछ भन्ने कुरा ज्यादै नजिकबाट त्यसवेला अनुभव गर्ने मौका हामीलाई भयो ।

हत्याकाण्डबारे धेरै तथ्य प्रकाशित हुन थालेपछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, तुल्सीलाल अमात्य, सहाना प्रधान, विष्णुबहादुर मानन्धर, टंकप्रसाद आचार्य, सूर्यबहादुर थापा, ऋषिकेश शाहलगायत दर्जनौँ राजनीतिक तथा मानवअधिकारवादी नेताले पिस्करमा भएको हत्या र दमनको विरोध गरे । त्यति मात्र होइन, राजदरबारलाई समेत दबाब पुग्ने गरी विरोधपत्र पठाउन अन्तर्राष्ट्रिय संघसंस्थाबीच पिस्कर घटनालाई पु(याउने प्रयास भयो । पार्टीको पहलमा देशव्यापी पर्चा, पोस्टरिङ र विरोध प्रदर्शन हुन थाले । ठाउँठाउँमा धरपकडको बेवास्ता गर्दै आन्दोलनलाई राष्ट्रव्यापी बनाउने प्रयत्न जारी रह्यो । यिनै संघर्षका परिणामस्वरूप पिस्कर क्षेत्रमा गरिएका ‘प्रशासनिक नाकाबन्दी’ हटाउन र थोरै भए पनि दमन खुकुलो पार्न सरकार बाध्य भयो । वास्तवमा पार्टीले त्यसवेला तत्काल प्रतिवादको नीति अख्तियार नगरी केवल घटनामा दुःख मात्र व्यक्त गरेर बसेको भए पार्टी संगठन पनि तहसनहस हुन्थ्यो र हाम्रो आन्दोलनले पनि निरन्तरता पाउने थिएन ।

पिस्कर आन्दोलनका सहिदलाई सरकारले ‘असामाजिक र उग्रवादी तत्व’ भनेर तिरस्कार गरेको थियो । वास्तवमा पिस्करको भूमिमा वीरगति प्राप्त गर्ने संघर्षका सहिदले बहुदलीय व्यवस्थाको स्थापनापछि मात्र केही सम्मान पाए । त्यसैगरी सहिदका परिवारले पनि राज्यबाट केही सुविधा पाए । त्यो पनि एउटा गौरवकै विषय हो । हुन त राजनीतिक योद्धा र सहिदले कुनै व्यक्तिगत सुविधा प्राप्तिका लागि जेलनेल र जीवनको बलिदान गरेका होइनन् । प्रजातन्त्र, परिवर्तन, आमजनताको सुख, समृद्धि तथा राजनीतिक मूल्य–मान्यताका निम्ति आफ्नो जीवन समर्पण गरेका हुन् ।

हाम्रो समाजको विडम्बना नै भन्नुपर्छ, आजकल भौतिक लाभ र सुविधासँग तुलना गरेर सहिदका वीरगाथाको अवमूल्यन गर्ने गलत संस्कृतिकोे विकास भइरहेको छ । महान् उद्देश्यका निमित्त जीवन अर्पण गर्ने सबै सहिद सम्मानयोग्य हुन्छन् । तर, हाम्रो देशमा एकातिर जोसुकैलाई सहिद भन्ने र अर्कोतिर सहिदले पाउने सम्मान र सुविधालाई पनि शक्ति र पहुँचको विषय बनाउने होड चलेको छ । जुन सम्मान झापाले पाउँछ, त्यही सम्मान इलाम, संखुवासभा, छिन्ताङ र पिस्करले पनि समान रूपमा पाउनुपर्छ । राज्यले यसमा कुनै तलमाथि गर्नुहुँदैन । सशस्त्र द्वन्द्वका क्रममा रोल्पा, रुकुम, गोरखा, सिन्धुपाल्चोक, धनुषा, रौतहट, भोजपुरलगायत अनेकौँ ठाउँमा हजारौँले बलिदान गरेका छन् र वारदातमा हजारौँले ज्यान गुमाएका छन् । अनेकौँका अंगभंग भएका छन् र धेरैले घरवास गुमाएका छन् । शान्ति–प्रक्रियालाई स्थायी निष्कर्षमा पु(याउने क्रममा राज्यले यसको पनि समुचित व्यवस्था गर्नुपर्छ ।

आज देशमा यिनै आन्दोलनहरूको जगमा उभिएको नेकपाको सरकार छ । केन्द्रमा मात्र होइन, प्रदेश र स्थानीय तहमा पनि पार्टीकै सरकार छ । देशको सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरण हुने कुरामा वर्तमान सरकारबाट जनसमुदायको ठूलो अपेक्षा छ । आमजनसमुदायको वास्तविक प्रतिनिधिसमेत भएकाले त्यस्तो अपेक्षा हुनु स्वाभाविक हो । यसमा पार्टीको गम्भीर ध्यान जानुपर्छ । विद्यमान शोषण, अन्याय, अत्याचार र असमानतालाई समाप्त गरी देशलाई समृद्ध बनाउने उद्देश्य हामीले राखेका छौँ । समाजवाद हुँदै साम्यवादसम्म पुग्ने हाम्रो लक्ष्य छ । हाम्रा अग्रज सहिदले त्यही उद्देश्यका निमित्त जीवनको आहुति दिएका हुन् । हजारौँ, लाखौँ जनताले राष्ट्रको जीवनमा सुधार ल्याउनकै लागि ऐतिहासिक आन्दोलनमा पार्टीलाई साथ सहयोग दिएका छन् । राज्यले नीति बनाउँदा, योजना बनाउँदा, बजेट बनाउँदा र कानुन बनाउँदा यिनै लाखौँ जनताको अवस्थालाई ध्यान दिएर बनाउनुपर्छ । यसबाट विमखु हुनु भनेको जनआन्दोलन र सहिदहरूप्रतिको अपमान हो ।

समाजवाद प्राप्त गर्ने कुरा भाषण गरेजस्तो सजिलो छैन । राजनीतिक–आर्थिक र सांस्कृतिक क्षेत्रमा धेरै चुनौती छन् । तर, पार्टी र जनसमुदायलाई एकताबद्ध बनाएको खण्डमा हामीले समाजवाद प्राप्त गर्न सक्छौँ । वास्तवमा यसको विकल्प पनि छैन । यसका निमित्त सर्वप्रथम पार्टीलाई अनुशासित, सिद्धान्तनिष्ठ, वैचारिक रूपमा एकताबद्ध र गतिशील बनाउनुपर्छ । सामन्ती राजतन्त्र गए पनि सांस्कृतिक रूपमा हामी सामन्ती गलत संस्कारले ग्रस्त छौँ । त्यसविरुद्ध संघर्ष गर्नुपर्छ । हामी कम्युनिस्टहरू हौँ । त्यसैले आफूलाई सादा जीवनको क्रान्तिकारी र लोकतान्त्रिक आचरणमा रूपान्तरित गर्न जरुरी छ । अनियमितता, भ्रष्टाचार र सुविधाप्रतिको आकर्षणले हामीलाई कम्युनिस्ट बनाउँदैन ।

हाम्रा काममा अत्यन्त सुस्तता र कार्यशैलीमा भद्दापन छन् । त्यसलाई अविलम्ब सुधार गर्नुपर्छ । कार्यशैलीलाई सहज र जनमुखी बनाउन ध्यान दिनुपर्छ । पार्टी सञ्चालनलाई व्यक्तिमुखी होइन, विधि, पद्धति र प्रणालीमुखी बनाउन जोड दिनुपर्छ । दुई पार्टी नेकपा ९एमाले० र नेकपा ९माओवादी० बीच ऐतिहासिक एकीकरण भएको पनि लामै समय बितिसक्यो । तर, केन्द्रबाहेक स्थानीय तह र निकायलाई अहिलेसम्म एकीकरण गर्न सकिएको छैन । लामो समयको संगठनविहीनताले पार्टी अस्तव्यस्त बनेको छ । कार्यकर्ता र जनतामा निराशा छाएको छ । नीति र सिद्धान्त मिलेपछि संगठनात्मक एकतामा यति विलम्बन नहुनुपर्ने हो । लामो असंगठित जीवनले पार्टी र आन्दोलनलाई कति क्षति पुगेको छ, यो हामी सबैका लागि धेरै गम्भीर विषय हुन् ।

आज हामी गौरवशाली संघर्षको गाथा बोकेको पिस्कर आन्दोलन ३५औँ स्मृति दिवस मनाइरहेछौँ । त्यहाँका जनताले निरंकुश शासनको अन्धकारमा कम्युनिस्ट आन्दोलन र लोकतन्त्र, समाजवाद प्राप्तिको उज्यालो भविष्यका निमित्त क्रन्तिको दीपशिखा जगाएको गौरवगाथाको सम्मानपूर्वक सम्झना गरिरहेका छौँ । समाज रूपान्तरणका निमित्त आफ्नो अमूल्य जीवन बलिदान गर्ने सहिद तथा लाखौँलाख जनसमुदायको संघर्षको मूल मर्मलाई आत्मसात् गरौँ । दम्भ र अभिमानलाई त्यागौँ । विनम्र र आत्मालोचित हुँदै पार्टी निर्माण प्रक्रियालाई तीव्रता प्रदान गरौँ । पिस्कर आन्दोलनले हामीबाट चाहेको अपेक्षा यही हो । नयाँपत्रिका दैनिकबाट ।
–बोहरा नेकपा स्थायी कमिटी सदस्य हुन् ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update