काठमाडौं - काठमाण्डौँमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण सुरु भैसकेको भनेर अफवाह फैल्याउने व्यक्तिहरुबारे प्रहरीले अनसन्धान सुरु गरेको छ ।
सामाजिक सन्जालमा राखिएको उक्त अडियो अहिले भाइरल बनेको छ । नेपाल प्रहरीका अनुसार साईबर व्यूरोले उक्त अडियोबारे अनुसन्धान गरिरहेको हो । प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार अनुसन्धान भैरहेको र अडियो रेकर्ड गरेर सामाजिक संजालमा फैल्याउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याईने प्रहरी स्रोतले भन्यो ।
उक्त अडियो क्लिप रेकर्ड गर्ने व्यक्तिले नेपालमा कोरोना भित्रिसकेको र व्यक्तिहरुको मृत्यु समेत भैसकेको बताएका छन् । नेपाल प्रहरीको साइबर व्यूरोका एसएसपी नविन्द अर्यालले उक्त अडियो प्रहरीलाई प्राप्त भैसकेको र अनुसन्धान सुरु गरेको जानकारी दिए ।
सरकारले कोरोना भाइरसबारे गलत सूचनाको पछि नलाग्न आग्रह गर्दै त्यस्तो हल्ला फैल्याउनेलाई कडा कारबाही गर्ने जनाएको छ ।