Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोस्रो विवाह गर्ने पुरुषलाई २ वर्ष जेल र जरिवाना

चरिकोट - बहुविवाह गरेका दोलखा भिमेश्वर नगरपालिका एक पुरुष बिरुद्ध अदालतले कैद र जरिवानाको फैसला गरेको छ । भिमेश्वर नगरपालिका वडा नम्बर २ का उमेश कार्की विरुद्ध अदालतले दुई वर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको हो ।

उमेशले कान्छि श्रीमतीका रुपमा रेणुका तामाङसँग दोस्रो बिवाह गरेपछि जेठी श्रीमती ईन्दिरा कार्कीले २०७६ साल पुष १७ गते अदालतमा बहुबिवाह मुद्धा दर्ता गरेकी थिईन् । उक्त मुद्धामा सुनुवाई गर्दै जिल्ला न्यायधिस कवि प्रसाद न्यौपानेको ईजलासले सोमबार जरिवाना सहित २ वर्ष कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी एकरामुल हकले जानकारी दिए ।

ईन्दिराले दायर गरेको अभियोग पत्रमा मुलुकी अपराध संहिता दफा १७५ को (४) बमोजिम हदैसम्मको सजायको माग दावी गरिएको थियो । कार्कीले जेठी श्रीमतीसँग २०७१ सालमा बिवाह गरेका थिए । उनीहरुबाट एक सन्तानको जन्म समेत भएको थियो ।

त्यसको केही वर्षपछि उमेशले कान्छि श्रीमती भित्र्याएका हुन् । अदालतले कान्छि श्रीमती तामाङलाई भने निर्दोष ठहर गर्दै सफाई दिएको छ ।

मुलुकी अपराध संहिता १७४ (४) को उपदफा (१) वा (२) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दशहजार देखि पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

अदालतको फैसलासँगै कार्की कैद भुक्तानका लागि कारागार चलान भएका छन् । सूचना अधिकारी हकका अनुसार यो आर्थिक वर्षमा अदालतमा बहु विवाह सम्बन्धि ३ वटा मुद्धा दर्ता भएका छन् । 

 

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update