काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ भ्रष्टाचार बिरुद्ध एक्सनमा उत्रिएका छन् । महिला, वालवालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा काम गर्ने विभिन्न निकायमा भ्रष्टाचार भैरहेको गुनासो आएपछि मन्त्री गुरुङले त्यसमा गम्भिर चासो व्यक्त गर्दै छानविनको तयारी गरेका हुन् ।
उनले सोमवार मात्रै काठमाण्डौको बिभिन्न निकायमा भ्रष्टाचार भएको गुनासो आएपछि स्थलगत अनुगमन गरेका छन् । काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रको अनुगमन गरेपछि मन्त्री गुरुङले त्यसको गहिरो छानविन हुने बताए । केन्द्रका पदाधिकारीले माटो रकम भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ ।
अनुगमनका क्रममा उनले केन्द्रमा भ्रष्टाचार भए/नभएको पत्ता लगाउन तत्काल छानविन समिति गठन गर्ने बताए । मन्त्रालयले प्रदान गरेको अनुदानमा पनि अनियमितता भएको जानकारी पाइएको उल्लेख गर्दै त्यसको छानविनमा सहयोग गर्न केन्द्रका पदाधिकारीलाई निर्देशन दिए । केन्द्रको नियमित लेखा परीक्षण सहितको आर्थिक पारदर्शीताबारे उनले गम्भिर चासो व्यक्त गरेका छन् ।
सामाजिक संघ, संस्थाहरुले संस्थाको उद्देश्य अनुसार काम नगरेको पाइए मन्त्रालयले कार्वाहीको दायरामा ल्याउने चेतावनी पनि मन्त्री गुरुङले दिए । मन्त्री गुरुङले सोमबारनै नेपाल अर्थोपेडिक अस्पताल, लप्सेफेदी स्थित ‘जेष्ठ नागरिक ग्राम’ लगाएतका निकायको पनि अनुगमन गरेका छन् ।