चरिकोट - दोलखा सदरमुकाम चरिकोट नजिकै जिल्लाका सबै आदिवासि जनजातिहरुको मौलिक सांस्कृतिक पहिचान झल्कने सांस्कृतिक संग्रहालय निर्माण हुने भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ६ को अग्रसरतामा जिल्लाका १२ आदिवासि जनजातिहरुको साझा सांस्कृतिक संग्रहालय निर्माणको पहल थालिएको हो ।
भिनपा ६ मा निर्माण प्रस्ताव गरिएको जनजाति सांस्कृतिक संग्रहालयको गुरुयोजना (मास्टर प्लान) तयार भएको छ । सदरमुकाम चरिकोटमा सोमवार गुरुयोजना सार्वजानिक गर्दै ईन्जिनियर नविन घिसिङले संग्रहालयको लागत ९ करोड ९२ लाख रुपैयाँ बरावर हुने बताए । संग्रहालय ४२ रोपनी क्षेत्रफलमा फैलिनेछ ।
गुरुयोजनामा संग्रहालयको शिरमा गुरु रिम्पोचेको मुर्ति निर्माण गर्ने भनिएको छ । त्यसको अघिल्लो क्षेत्रमा १२ आदिवासि समुदायका आ-आफ्नो जातिय विशेषतामा आधारित परम्परागत शैलीका छुट्टाछुटै भवन (कटेज) बन्ने जनाईएको छ । कटेज भित्र सम्बन्धित जातजातिको संस्कार, संस्कृति, भाषा धर्म, रहनसहन, भेषभुषा आदि झल्कने संरचना र सामग्री प्रदर्शनमा राखिनेछ । त्यहाँ जन्म, बिवाह देखि मृत्यु संस्कारसम्मका विषयबस्तुहरु अध्ययन गर्न पाईनेछ ।
कार्यक्रममा भिमेश्वर नगरपालिका वडा नम्वर ६ अध्यक्ष नविन लामाले जिल्लाका सबै जनजाती समुदायको सांस्कृतिक पहिचनको संरक्षण र पर्यटन पवद्र्धनका लागि एकिकृत सूचना केन्द्रको रुपमा संग्रहालयको परिकल्पना गरिएको बताए ।
दोलखामा सरकारले सूचीकृत गरेका तामाङ, थामी, जिरेल, सुरेल, शेर्पा, श्रेष्ठ, सुनुवार, गुरुङ, माझी, भुजेल, मगर र कुमाल गरी १२ आदिवासी जनजाति समुदाय छन् ।
संग्रहालय परिसर भित्र ३ देखि ४ सय क्षमताको कार्यक्रम हल निर्माण गर्ने योजना छ । संग्रहालय निर्माणको लागि भीमेश्वर नगरपालिका वडा नम्बर ६ ले ५ लाख रुपैयाँ खर्चेर डिपिआर तयार पारेको हो । वडा अध्यक्ष लामाले आगामी आर्थिक वर्षबाट संग्रहालयको पूर्वाधार निर्माण सुरु गर्नेगरी सबै सरोकारवालाहरुसँग घनिभुत छलफल अघि बढाउने बताए ।