चरिकोट - दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावतीमा दुर्लभ बन्यजन्तु सालक अलपत्र अवस्थामा फेला परेको छ । सुन्द्रावती स्थित कालिनाग सामुदायिक वन नजिकै गोरेटो बाटोमा फेला पारिएको सालक सोही वनमा छाडिएको छ । स्थानीयले आईतवार फेला पारेको सालक सोमवार जिल्ला प्रहरी कार्यालय चरिकोट बुझाएका थिए ।
सालकलाई प्रहरीले आजै डिभिजन वन कार्यालयमा बुझाएपछि स्थानीय र वनका कर्मचारीको टोलीले भेटिएकै क्षेत्रमा छाडिदिएको हो । बच्चा अबस्थाको सालक फेला परेपछि स्थानीयले एकरात गाउँमै राखेर सोमवार प्रहरीलाई बुझाएका हुन् । डिभिजन वन कार्यालय, भिमेश्वर सव डिभिजनका ईन्चार्ज कमल थापाले सालक स्वस्थ पाईएकाले उसको प्राकृतिक अनुकुलताका लागि आवश्यक प्रक्रिया पुरा गरेर सम्बन्धित वनमा छाडिएको जानकारी दिए ।
माउसँग छुटेपछि बच्चो सालक वाटोमा निस्केको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । सालक प्राय नेपाल, भारत, चीन लगायतका दक्षीण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू भागमा पाइन्छ । विश्वभर आठ जातिका सालक पाइन्छन् । नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन । यद्यपी पहाडी केही जिल्लामा सेतो सालक पनि पाइने वन्यजन्तुविज्ञहरुको भनाई छ ।
सालकले मुख्य रूपमा धमिरा र कमीला लगायत साना कीराहरू मन पराउँछ । खपटा विक्रिवितरणका लागि चोरीशिकारी हुने गरेका सालकको अस्तित्व संकटमा छ । दोलखामा सालकको संख्या के कति छ भन्नेबारे डिभिजन वनसँगपनि तथ्यांक छैन । थापाले जिल्लामा सालकको संख्याबारे खास अध्ययन नभएपनि थप संकटमा पर्दै गएको बताए ।