Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको कृषि ब्लक र पकेट क्षेत्रमा ८ करोडको अनुदान कार्यक्रम

चरिकोट - दोलखामा कृषि क्षेत्रका ब्लक र पकेट क्षेत्रमा ८ करोड बरावरको बजेट लगानी हुने भएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा छनौट गरिएका फलफुल, तरकारी सहितका कृषि बाली बिस्तारका लागि उक्त बजेट खर्च गर्न लागिएको हो । वाग्मती प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्ष २०७६/७७ मा जिल्लाको कृषि वाली प्रवद्र्धनका लागि २५ वटा ब्लक तथा पकेट क्षेत्र प्रस्ताव गरी बजेट विनियोजन गरेको छ ।

जसका लागि ५ करोड ३३ लाख ६७ हजार रुपैयाँ बजेट छुट्याईएको छ । जसमा ५ वटा ब्लक र २० वटा पकेट क्षेत्र छन् । जिरी नगरपालिकामा आलु, गौरीशंकर गाउँपालिकामा कागती, विगु गाउँपालिकामा किवी, शैलुंङ गाउँपालिकामा आलु र तामाकोशी गाउँपालिमा किवीको ब्लक स्तरमा कार्यक्रम संचालन हुनेछन् । ब्लक क्षेत्रमा ५०/५० लाखको बजेट प्रस्ताव गरिएको छ ।

कालिञ्चोक गाउँपालिकामा दुई वटा किवी पकेट, शैलुङ गाउँपालिकामा किवी र आलुका २ वटा पकेट, बैतेश्वर गाउँपालिमा कफिको १ वटा पकेट, मेलुङ गाउँपालिकामा आलु, तरकारी र फलफुलको ३ वटा पकेट, गौरीशंकर गाउँपालिकामा १ वटा आलु पकेट, भिमेश्वर नगरपालिकामा कागती र किवीको २ वटा पकेट, विगु गाउँपालिकामा कागतीको २ वटा पकेट, तामाकोशी र जिरीमा १/१ वटा किवीको पकेट क्षेत्रमा कार्यक्रम सञ्चालन हुनेछन् ।

यस्तै माग र सम्भाव्यताको आधारमा सुन्तलाको २, तरकारीको २ र माछाको १ पकेट क्षेत्र प्रस्ताव गरिएको छ । प्रत्येक पकेट क्षेत्रले १४ लाख १२ हजार रुपैयाँ बरावरको कार्यक्रम संचालन गर्न सक्नेछन् । माछा पकेटका लागि भने १५ लाख ३९ हजार प्रस्ताव गरिएको छ ।

कार्यक्रमका लागि दोलखाबाट दुई दर्जन बढि संघ संस्थाले प्रस्ताव पेश गरेको कृषि ज्ञान केन्द्र, दोलखा सम्पर्क कार्यालयका नन्दराज ओलीले जानकारी दिए ।

यसैविच प्रधामन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई (किवी जोन) दोलखाले चालु आर्थिक वर्ष २ करोड ६० लाख रुपैयाँ बरावरको कार्यक्रम कार्यान्वयन गर्दैछ ।

किवी जोन दोलखाका प्रमुख, बरिष्ठ कृषि विकास अधिकृत मोहन खतिवडाका अनुसार उक्त बजेट किवी फलको थाँक्रा व्यवस्थापन, साना सिंचाई, नमुना बगैचा व्यवस्थापन, साना मेसिनरी औजार तथा उपकरण, उच्च प्रविधि नर्सरी स्थापना, बगैचा सुदृढिकरणमा खर्च हुनेछ । उन्नत प्रविधि प्रदर्शन, भकारो सुधार, ग्रिडिङ, प्याकेजिङ्ग, लेवलिङ्ग, तालिम लगाएतका शिर्षकमा पनि बजेट खर्च हुने उनले बताए ।

उक्त कार्यक्रम किवी जोन कार्यालयले किवी पकेट क्षेत्रमा सुचीकृत भएका कृषिसँग सम्बन्धित एक सय बढि संघसंस्थाहरु मार्फत कार्यान्वयन गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update