९ माघ । काठमाण्डौं । चीनमा कोरोना भाइरसकाे संक्रमण फैलिएपछि एक दोलखाली युवकको शव अलपत्र परेको छ । चीनमा लामो समयदेखि कार्यरत दोलखाका ३८ वर्षीय नेपाली कामदार पुष्कर खड्काको शव नेपाल ल्याउन समस्या भएको हो । उनको गत आइतबार आफू बसेकै होटलमा मृत्यु भएको थियो ।
खड्का हुबेई प्रान्तको वुहानस्थित इन्डियन मार्का नामक भारतीय रेस्टुरेन्टमा काम गर्थे । उक्त ठाउँ कोरोना भाइरसको केन्द्र मानिएको छ। तर प्रारम्भिक प्रतिवेदनअनुसार खड्काको मृत्युमा कोराेना भाइरसकाे संक्रमण देखिएकाे छैन । उनको पुर्ख्यौली घर दोलखा शैलुङ गाउँपालिका काटाकुटी हो । हाल खड्काकी आमा, श्रीमती र छोरासहितको परिवार भक्तपुरको ठिमीमा बस्दै आएको छ।
मृतकको शव नेपाल लैजान करिब १ लाख चिनियाँ आरएमबी लाग्ने भएकाले समस्या भएको हो । भारतीय कम्पनीले ड्युटी बाहिरको घटना भएकाले क्षतिपूर्ति नबेहोर्ने बताएको छ। खर्चका लागि नेपालस्थित जिम्मेवार निकाय र बेइजिङस्थित नेपाली दूतावासले पहल गरिरहेको छ ।
नेपाली दूतावासका अनुसार कोरोना भाइरसका कारण तत्काल शव नेपाल लैजानका लागि समस्या भएको हो। कोरोना भाइरस फैलिने आशंकामा वुहानको सरकारले बिहीबारदेखि लागू हुने गरी त्यहाँका सार्वजनिक यातायातहरू अस्थायी रूपमा बन्दको घोषणा गरेको छ।