दोलखा - ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना अन्तर्गत बाँधस्थलको प्राबिधिक परीक्षण गरिने भएको छ । आयोजनाका अनुसार यही चैत्र ३ देखि २२ गतेसम्म बाँध, ईन्टेक, वालुवा थिग्राउने पोखरी (Settling Basin) गेट, स्टपलग लगायत अन्य हेडवक्र्सका संरचनाहरुको प्राविधिक परीक्षण गर्ने तयारी गरिएको हो ।
२१ दिनको उक्त अवधिमा आयोजनाको जलाशय तथा बालुवा थिग्राउने पोखरीमा पानी भर्ने, नदीको पानी रोक्ने र छोड्ने काम गरिन्छ । जसबाट नदीको बहाव घटबढ हुने भएकाले नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन आयोजनाले आग्रह गरेको छ । आयोजनाले शनिवार जरुरी सार्वजानिक सूचना जारी गर्दै तामाकोशी नदीमा माछा मार्ने¸ नुहाउने¸ पौडी खेल्ने, लुगा धुने वा वस्तुभाउ लैजाने जस्ता कार्यहरु नगर्न र नगराउन आग्रह गरेको हो ।
आयोजना अधिकारीहरुका अनुसार कुनै बेला एकैपटक ठुलो मात्रामा पानी छोड्नुपर्ने हँुदा बाँधभन्दा तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने हुन्छ । परीक्षण अवधिमा लामाबगर, छेतछेत, गोंगर, जगत, मन्थली, टुनीटार, जामुने¸ भोर्ले, सिंगटी बजारसम्म तामाकोशी नदीमा पानीको सतह बारम्बार धेरै घटबढ भइरहन सक्छ ।
यस्तै सिंगटी बजारभन्दा दक्षिण खुर्कोट नजिकै तामाकोशी र सुनकोशी नदीको दोभानसम्म नै तामाकोशी नदीको पानीको सतह सामान्य रुपमा घटबढ भई असर पर्नसक्ने हुँदा सचेत गराईएको हो ।
सूचनाको अवज्ञा गरी नदीमा माछा मार्ने¸ नुहाउने¸ पौडी खेल्ने, लुगा धुने वा वस्तुभाउ लैजाने जस्ता कार्यहरु गरी कुनै दुर्घटना हुन गएमा आयोजना जिम्मेवार नहुने तर्फपनि आयोजनाले सचेत गराएको छ । दोलखाको विगु गाउँपालिका १¸ लामावगरमा निर्माणाधीन आयोजनाबाट अबको तीन महिना भित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ ।