काठमाडौं — पूर्व सूचना तथा संचार प्रवधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट भएको छ । भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको पूर्वतर्फको पर्खालमा बुधवार विहान बम विस्फोट भएको हो । विस्फोट हुँदा गेटमा क्षति पुग्नुका साथै झ्यालको सिसा फुटेका छन् ।
घट्नास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीको टोली पुगेर घट्नाबारे अनुसन्धान सुरु गरेको ठिमी वृत्तका प्रहरी नायव उपरिक्षक (डीएसपी) शान्तिराज कोइरालाले वताए । उनका अनुसार घटना कसले गरायो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटना प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले गराएको आशंका गरिएपनि पुष्टि हुन सकेको छैन । चन्द समूहलाई प्रतिबन्ध लगाएको एक वर्ष पुगेको दिन विस्फोट भएको हो ।
२०७५ फागुन २८ गते सरकारले चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाउँदै पक्राउ र खोजी कार्य जारी राखेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले फागुन ८ गते मन्त्री पदबाट राजीनामा दिएका थिए।