Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सरकारको चेतावनी : कालोबजारी गर्नेलाई छोडिदैन

काठमाडौँ - सरकारले कोरोनाको त्रासलाई लिएर कालोबजारी गर्ने र महंगी सिर्जना गर्ने बिरुद्ध अनुगमन र कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ । त्यसका लागि प्रहरी सहितको अनुगमन संयन्त्र बन्दैछ । आपूर्ति व्यवस्थालाई नियमित राख्ने पहल जारी रहेको भन्दै सरकारले विषम परिस्थितिको मौका छोपी कालोबजारी गर्ने परल भन्दा बढि मुल्य लिने, कृत्रिम अभाव सिर्जना गर्ने विरुद्ध अत्यावश्यक ऐनले गरेको व्यवस्थाअनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

“मास्क, स्यानेटाइजरजस्ता सामग्रीमा केही दबाब छ, तर खाद्य पदार्थ, खाना पकाउने ग्यास, नुन, दलहन, खाने तेल आपूर्तिमा कुनै समस्या छैन, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले भने, “ कालोबजारी गरेको पाईए हदैसम्मको कारबाही हुन्छ ।” सङ्कटको बेला कमाउने मौका भन्दै त्यस्तो धन्दा गर्ने विरुद्ध जरिवाना तिराउने मात्रै नभई जेल हालिने उनले चेतावनी दिए ।

सामान्य अवस्थामा ३७ हजार टन ग्यास आयात हुने गरेकामा कोरोना त्रासपछि नेपाल आयल निगमले ४५ हजार टनका लागि प्रोडक्ट डेलिभरी अर्डर(पीडीओ) जारी गरेको छ । यो हालसम्मकै बढी हो ।  निगमले होलीको समयमा समेत भारतबाट ग्यास आयात र लोडिङ गरिरहेको जनाएको छ । बजारमा कुनै पनि वस्तुको आपूर्ति कम हुन नदिने सबै सरकारी निकाय अहोरात्र परिचालित भएको मन्त्री भट्टले जानकारी दिए ।

कालोबजारीमा पर्नुभयो ? ११३७ फोन गर्नुस्

मन्त्री भट्टका अनुसार आपूर्ति तथा अन्य कुनै समस्या आए ११३७ नम्बरमा फोन गरेर सूचना दिन पनि आग्रह गरे । उक्त नम्बरमा पैसा लाग्दैन । कालोबजारी भए, परल भन्दा महंगो गरेको पाईए, उक्त नम्बरको फोन गरेर सूचना दिनसक्ने व्यवस्था गरिएको हो । केही दिनभित्रैमा साल्ट ट्रेडिङ लगायतका स्थानमा पनि हटलाइन सेवाको शुरुवात गरिने बताईएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update