चरिकोट - दोलखाका युवा व्यवसायी शान्त कुमार जिरेलले आफ्नो जन्मदिनको अवसरमा चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्टिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । बिहिवार काठमाण्डौँमा आयोजित एक कार्यक्रमकाबीच जिरेलले ५१ हजार १ सय ५० रुपैयाँ सहयोग रकम रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुश) लाई हस्तान्तरण गरे ।
बैतेश्वर गाउँपालिका वडा नम्बर ८ क्षेत्रपा निवासि जिरेलले सदरमुकाम चरिकोटमा व्यवसाय गर्दै आएका छन् । सहयोग हस्तान्तरण गर्दै जिरेलले जन्मदिनमा हुने फजुल खर्च आफुले जनस्तरबाटै निर्माण भैरहेको मुलुककै गौरवको परियोजना रंगशाला निर्माणमा सहयोग गरेको बताए ।
‘नागरिकको पहलमा नेपालमा नै पहिलोपटक निर्माण भैरहेको अन्तराष्ट्रिय रङ्गशालाको निर्माणमा सहयोग गर्न पाउनु ठुलो अवसरको कुरा हो, उनले भने, त्यसमा आफुले पनि सहयोग गर्न पाउँदा खुसि लागेको छ ।’ जन्मदिन भन्नेवित्तिकै साथीभाइ जम्मा भएर केक काट्ने र भोजभतेर गर्ने प्रचलन छाडेर उनले आफ्नो कमाई सामाजिक कार्यमा सहयोग गरेका हुन् ।
कार्यक्रममा रंगशाला निर्माणको अगुवाई गरिरहेका कलाकार कट्टेलले सबैको साथ सहयोग रहेका कारण रङ्गशाला निर्माण कार्यले तिव्रता पाएको बताए ।