Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कोरोना असर : दोलखा महोत्सव स्थगित, २० लाख खर्च डुब्ने जोखिम

चरिकोट - दोलखा सदरमुकाम चरिकोटमा पर्सिदेखि सुरु हुने भनिएको वृहत दोलखा महोत्सव अन्तिम समयमा आएर स्थगित गरिएको छ । दोलखा उद्योग वाणिज्य संघले चरिकोट स्थित टुलिखेलमा यही चैत २१ देखि ३० गतेसम्म महोत्सव सहित लगानी सम्मेलन आयोजना गरेको थियो ।

सरकारको आग्रह र प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माको अध्यक्षतामा सोमवार बसेको सर्वपक्षिय बैठकको निर्णय बमोजिम महोत्सव स्थगित गरिएको संघका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार महोत्सव यही फागुन मसान्तसम्मका लागि स्थगित गरिएको हो । फागुन मसान्तसम्मका लागि स्थगित गरिएको बताईएपनि त्यसपछि पनि महोत्सव हुने वा नहुने अन्यौल छ ।

संघका महासचिव हेमराज रिमालले भने परिस्थितिको अनुकुलता हेरेर चैतमा महोत्सव हुने बताए । ‘परिस्थिति धेरै प्रतिकुल नभए संघको क्यालेण्डर अनुसार नै चैतमा महोत्सव हुन्छ, त्यसमा सबै सरोकारवालाहरुको पनि सहमति छ, उनले भने ।’ 

डेढ करोड खर्च हुने अनुमान गरिएकोमा हालसम्म महोत्सव तयारीका क्रममा २० लाख रुपैयाँ बरावर खर्च भैसकेको आयोजकको अनुमान छ । महासचिव रिमालका अनुसार प्रचार प्रसार र अन्य तयारीका लागि उक्त रकम खर्च भएको आँकलन गरिएको छ । टुडिखेलमा स्टल, पिङ लगाएतका संरचना निर्माण प्रचार प्रसारसहित दोलखा उद्योग वाणिज्य संघ महोत्सवको अन्तिम तयारीमा जुटेको थियो । 

लगानी सम्मेलनमार्फत जिल्लाका ठुला आयोजनाहरुमा लगानी जुटाउने, पर्यटन प्रवद्र्धन मार्फत भ्रमण वर्षलाई सहयोग पुर्याउने लगायतका उदेश्य सहित महोत्सव आयोजना गरिएको थियो ।

 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update